
सोमबार असार २३ काठमाण्डौ,
झापाको शिवसताक्षी-९ का ५९ वर्षीय जीवन न्यौपानेको अवस्था ११ दिनदेखि अज्ञात छ । असार १३ गते ‘औषधि किन्न जान्छु’ भन्दै घरबाट निस्किएका उनी हालसम्म परिवारको सम्पर्कमा आएका छैनन् ।
घरबाट निस्किँदा उनले आफ्नो मोबाइल फोन र पर्ससमेत घरमै छाडेकाले यो घटना पूर्व योजनाअनुसार भएको परिवारको आशंका छ भने उनको खोजीका लागि प्रहरीमा निवेदन दिनुका साथै सर्वसाधारणलाई सहयोग गरिदिन अपिल गरेका छन् । उनकी बुहारी सबुले सामाजिक सञ्जालमा लेख्छिन्ः ‘बुबा जहाँ भए पनि सम्पर्कमा आइदिनुहोस्, हामी अत्यन्तै चिन्तित छौं।’
.......
त्यसैगरी अछाम, साफेवगर नगरपालिका–३ स्थायी घर भई हाल काठमाण्डौ अनामनगर बस्ने ५५ वर्षीय जगतबहादुर कुवँर पनि विगत ५ दिनदेखि बेपत्ता छन् । उनको पनि अवस्था अज्ञात छ ।
असार १७ गते बिहान अनामनगरस्थित डेराबाट मर्निङवाकमा जान भनी निस्किएका कुँवरको अवस्था अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।
उनका भतिज देवबहादुर कुँवरले भनेः “काका हराउनु भएको आज पाँच दिन भइसक्यो, हामीले जिल्ला प्रहरी परिसरमा पनि खोजतलासका लागि यही असार १८ गते निवदेन दर्ता गराएका छौँं। तर अहिलेसम्म कुनै जानकारी प्राप्त भएको छैन ।”
कुँवर हराएको विषयमा जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले भने “कुँवरको खोजी जारी छ, विभिन्न युनिटमार्फत खोजीको प्रयास भइरहेको छ ।”