
सोमबार भदौ ३० काठमाण्डौ,
जेनजी विद्रोहपछि प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा सोमबार तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
प्रधानमन्त्री सुशिला कार्कीले आइतबारै घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको जिम्मेवारी सुम्पिने निधो गरेकी थिइन् भने अर्याललाई गृह र कानून तथा संसदीय मामिला र खनाललाई अर्थमन्त्रीमा नियुक्त गर्ने पक्कापक्की भएको थियो ।
सोमबार भने राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरू कुलमान घिसिङ, ओमप्रकाश अर्याल र रामेश्वर खनाललाई पद तथा गोनपनीयताको शपथ गराएका हुन् । अन्य मन्त्रालयको जिम्मेवारी भने प्रधानमन्त्रीले नै सम्हाल्नेछिन् ।
ऊर्जामन्त्रीमा नियुक्त घिसिङ यसअघि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनेका थिए । गृहमन्त्री अर्याल काठमाडौं महानगरपालिकाको कानूनी सल्लाहकार थिए । अर्थमन्त्री नियुक्त खनाल पूर्व राजश्व सचिव हुन् । जेन–जी पुस्ताको आन्दोलन उग्र भएपछि २४ भदौमा निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका थिए ।